November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

कात्तिक महिना सुरु भएसँगै कालीगण्डकी नदीमा स्नान गर्नेको भीड, यस्तो छ सांस्कृतिक महत्व

कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ । कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको बिहानको समयमा भीड नै लाग्ने गरेको हो । कात्तिकभरि नै यहाँ स्नान, जप र ध्यान गर्नेको भीड लाग्ने गर्दछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वासले कालीगण्डकीको गलेश्वर, बेनीबजार, सेतीबेणी, रिडीलगायत क्षेत्रमा गण्डकी स्नानका लागि भीड लाग्ने गरेको हो ।

विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानवबस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मीले बताउँदै आएका छन् । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालग्रामबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो ।

यस्तो छ कालीगण्डकीको पौराणिक र सांस्कृतिक महत्व

हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर)बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा नदी पनि हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३०.४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।

कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो । स्कन्दपुराणमा ‘शालग्राम समिपेतु क्रोशमात्रं समन्ततः । कीटोऽपि म्रियते याति वैकुण्ठभवनं ध्रुवम् ।।’ अर्थात् जहाँ–जहाँ कालीगण्डकी बहेकी छन्, त्यसको एक–एक कोषसम्म मर्ने किटपताङ्गादिसमेत वैकुण्ठ जान्छन् भनेर वर्णन गरिएको छ । त्यस्तै प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँपटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकैपटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा पनि स्कन्दपुराणमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.