December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

भारतका नेपाली भाषी भन्छन् : दशैँ हाम्रो गोर्खे परम्परा हो, हामी यो परम्परा छोड्दैनौँ

काठमाडौ । भारतमा ठूलो संख्यामा नेपाली भाषीहरु छन् । सिक्किम, दार्जिलिङ, आसाममा बहुसंख्यक नेपाली भाषीहरु नै छन् । भारतमा नेपाली भाषीहरूको बाक्लो बसोबास रहेको दार्जिलिङ, सिक्किम तथा आसाममा दशैँको छुट्टै रौनक रहने गरेको छ।

जुन बेला गोर्खाल्याण्ड आन्दोलनको सुरुआत भएको थियो, त्यसपछिका दशैँ तथा तिहारमा भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको एजेन्डा बोकेर मानिसहरूले मनाउने गरेका थिए।

तर अहिले परिस्थिति बदलिएको छ। कोरोनाभाइरस महामारीका कारण गत वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य मापदण्डको पालना गरेर प्रशासनको अनुमतिमा मात्र झाँकी प्रदर्शन गर्न पाइने नियम छ। यो वर्षको दशैँमा कुनै राजनीतिक मुद्दा बोकेर नभई पारम्परिक रूपमा भारतका नेपाली भाषीहरूले दशैँ मनाएका छन्।

भारतको सिक्किम तथा दार्जिलिङ पहाडमा सबै किसिमका नेपाली समुदायको बसोबास छ। त्यहाँ सबै समुदायले दशैँ मनाउँछन्। कुन जातले मनाउने वा कुन जातले नमनाउने भन्ने विषय अहिले बिस्तारै हट्दै गएको छ।

सिक्किमका एक साहित्यकार तथा प्राध्यापक रुद्र पौडेलका अनुसार केही राजनीतिक दलको स्वार्थमा दशैँलाई सङ्कुचित पार्ने कोसिस भए पनि अहिले त्यो बिस्तारै हट्दै छ। पौडेलले भने, पहिलाका केही राजनीतिक दलले फाटो ल्याउन कोसिस नगरेका होइनन्। तर अहिले दशैँ सबै नेपालीको रहेछ भन्ने परिसकेको छ। केही समुदायले पहिला दशैँमा सेतो टीका लगाउने चलन रहे पनि अहिले प्रायःले रातै टीका लगाउन थालेको पौडेलले बताए।

नेपालीलाई जोड्ने उत्सव
भारतमा बसोबास गर्ने नेपाली भाषी समुदायले दशैँलाई विश्वभरका नेपालीलाई जोड्ने उत्सवको रूपमा चित्रण गर्ने गरेका छन्। उनीहरूका अनुसार ठूला–बडाको आदर गर्ने संस्कार सिकाउने पर्व हो दशैँ।

साहित्यकार रुद्र पौडेल भन्छन्, दशैँभन्दा ठूलो चाड हिन्दू नेपालीका लागि अरू कुनै छैन। विश्वभरका नेपालीले मनाउने सबभन्दा ठूलो चाड नै दशैँ भएकाले यो त विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने उत्सव हो।

समुदायबीच कुनै भेदभाव नराखी भारतमा बसोबास गर्ने नेपालीहरू दशैँ मनाउन जुटेका छन्। आ–आफ्नो संस्कृति मान्ने भन्दै दशैँ कसैले मान्ने कसैले नमान्ने आवाजहरू उठिरहँदा उनीहरू भन्छन्, यो हाम्रो गोर्खे परम्परा हो। हामी यो परम्परा छोड्दैनौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.