November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा, गरे यस्तो गलत काम !

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा छन् ।

प्रश्नपत्र लिक भएको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवायलयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिले गरेको अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने कार्यमा प्रहरी प्रधान कार्यालयको युएन शाखाका परिचर र डीएसपीको संलग्नता खुलेको हो। ‘अहिलेसम्म उच्च तहका अधिकृतमध्ये डीएसपीसम्मको संलग्नता रहेको देखिन्छ। अनुसन्धान जारी रहेकाले थप तथ्य खुल्दै जाला,’ समितिका एक प्रहरी अधिकृतले भने।

प्रहरी प्रधान कार्यालयको युएन शाखामै रहेका परिचर सुरेश बमबाटै प्रश्नपत्र लिक भएको देखिएको समिति स्रोतले जानकारी दियो। बमबाट उक्त प्रश्नपत्र प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहसम्म पुगेको थियो। त्यसपछि उक्त प्रश्नपत्र एक डीएसपीसम्म पुगेको छानबिन समिति स्रोतले जानकारी दियो।

‘अहिलेसम्म धेरै पिक्चर आइसकेको छ। अब यसलाई पूर्णता दिने काम अन्तिम चरणमा पुगेको छ,’ समितिका एक अधिकृत भन्छन्। कार्यालय समय सकिएर सबै जना घर गइसकेपछि परिचर बमले उक्त प्रश्नपत्र युएन शाखाका एसपी अनुपम शमशेर राणाको कोठाबाट निकालेको पाइएको छ। प्रश्नपत्र लिकमा प्रत्यक्ष रुपमा परिचर बम र हवल्दार शाहको संलग्नता देखिएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयमै रहेको १ नम्बर गणमा राखेर अनुसन्धान गरिएको छ।

परीक्षामा नै संलग्नता नहुने परिचर बमले किन प्रश्नपत्र चोरे, त्यसपछि प्रि–स्याटको परीक्षामा नै संलग्नता नभएको हवल्दार शाहलाई किन त्यो प्रश्नपत्र दिइयो ? हवल्दारबाट उक्त प्रश्नपत्र कहाँ–कहाँ गयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.